Setopana.com
आमाका कुरा : ८२ वर्षिय रमादेवी पौडेलका रमाइला कुरा

पल्लो घार्मी, काउलेपानी निवासी ८२ वर्षीय रमादेवी पौडेल आफ्नो जीवन जहिले पनि आनन्दमै बितेको कुरा गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ जिन्दगी भनेको जस्तो सोच्यो त्यस्तै हुन्छ। सुख सोचे सुख, दुस्ख सोचे दुख। उहिले उहिले हाम्रा पालामा सिठो, दियालो बाल्दै आधारातसम्म काम ग(यौं, मोटरको मुख देखेनौ, जता जाँदापनि घण्टौ पैदल हिड्यौ, पात्लाबाट दिनको सात गाग्री पानी खेपेर घर धान्यौं। दिन चलेकै थिए। दुस्ख र सुख भन्ने कुरा त मनले सोच्ने कुरा हो, मनले दुःख सोचे दुखै हुन्छ जीवन, सुख सोचे सुखै सुखै हुन्छ ।

मन सफा हुनुपर्छ बाबू ,मन सफा भए जिन्दगानी पनि भाग्यमानी हुन्छ

     घाचोक माइत भई १० वर्षको उमेरमा डोली चढेर आउनु भएको उहाँ, आफ्नो बिवाहको दिन सम्झँदै भन्नुहुन्छ  तीन भाइकी एउटी बैनी, हजुरबाले नातिनीको जलखाने धोको गरेपछि, स्यानैमा बिहे गरिदिए, रातिको बिहे ,सय जना जन्ति, जन्तिबाख्रो सहितको दोहोरी भतेर गरेर जोरबाजा घन्काउदै ल्याएका हुन् । त्यतिखेर सटनको गुन्यु चोली, कल्ली,फुल कल्ली, ढुङ्ग्री र बुलाकी लाएकी स्यानी बालखा म डोलीमै हराएकी थिएँ। माईतबाट घरसम्मै एक पाईलो हिडिन, माईतीले दुई सय खर्च गरेर बिहे गरिदिएका हुन् । हाम्रो बिहे निकै खर्चिलो बिहे भनेका थिए मान्छेहरुले। 

 ८२ वर्षको उमेरमा पनि हाँसी हाँसी तिखो र टाठो स्वरले बोल्ने उहाँ आफ्नो विगत सम्झदै भन्नुहुन्छ बिहे भएको दुई चार दिनमै आफू लाहुर जानुभयो। लाहुर गएको मुन्छे एकैचोटि पाँच वर्षमा आउनु भयो। पाँच वर्षसम्म कहिले घर, कहिले कथम् माईत गरेर बसेँ। बिहेको अर्काना साल ,११ वर्षको उमेरदेखि मेलो खेतालो, हिँडे। लोग्ने आएपछि भाई छुट्टियौं र खेती किसानी गरेरै घर चलायौं। दुई छोरा,तीन छोरी सन्तान भए, खेतीपाति गरेरै तिनको लालन पालन गयौं। 

   आफ्ना स्वर्गीय पतिलाई सम्झँदै भन्नुहुन्छ  हेउ भएको मान्छे हुनुहुन्थ्यो, दुस्ख गरेरै खाने भन्नुहुन्थ्यो, घरमा लैना बकेर्ना भैंसी, हल गोरु टुटेनन्। त्यतिखेरका मान्छेको पेटमा धर्म हुन्थ्यो, यस्तो गर्न हुन्न, यसोमा यसो हुनुपर्छ भन्ने विवेक थियो। मान्छेमा इज्जतको डर हुन्थ्यो। नचाहिँदो गर्दा धर्म भुटिन्छ भन्ने डर थियो। अहिलेको जस्तो बेथिति थिएन। 

उहिले र अहिलेको जीवन अन्तरको कुरा गर्दै उहाँ भन्नुहुन्छ,मन सफा हुनुपर्छ बाबू मन सफा भयो भने जिन्दगी पनि भाग्यमानी हुन्छ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update