Setopana.com
यात्रा विशेष: नुवाकोट किल्ला

नरिवल बाहिरबाट हेर्दा कडा ,भद्दा र नराम्रो हुन्छ तर भित्रबाट नरम र रसिलो हुन्छ | हो मान्छे पनि कतिपय यस्तै हुँदा रहेछन | हाम्री आथे(ठुली ) आमा प्रेम कुमारी गुरुङ जस्तै |

 

केहि दिन अगाडी हामी कृष्ण आचार्य सर ,कृष्ण पौडेल सर ,गोबिन्द सर ,भेषराज सर ,नबिन बाबु र म मिलेर हाम्रा वरिपरीका परिवेश अवलोकनमा निस्क्यौं | छोरेपाटनबाट बक्रेक (टप ) पुगी सुन्तला किनी खाँदै चारैतिर नजर ओछायौं|स्वादिस्ट सुन्तला रहेछ त्यहाँको बिशेसता: त्यहाँ बाट अगाडी बढ्दै तल्लो कृस्ती जानो बाटो छोडेर उपल्लो मट्टीखान जाने बाटो पछ्यायौं | बाटोमा ठुलो ढुंगामा जोडेर बनेको कैलास मन्दिरको बाहिरबाटै दर्शन गर्यौं | ठुल- ठुला ढुंगा काटेर ढुंगे धारा अंकित शिब लिंग र बसाहाको मुर्ति बनाइएको रहेछ |सुन्दर रचनाकर्तालाइ धन्यवाद | अगाडी बढ्दै जाँदा मट्टीखान पुगियो |त्यहाँ रहेको मन्दिर र परिवेशसंग सुस्ताउंदै धरहरा चढेर अवलोकन गर्यौं आफ्नै नयनको सहयोगले किनकी दुरविन चालु हालतमा थिएन | दुरविन र संरचनाको संरक्षण होस्, हाम्रो कामना | अलि अगाडी बढ्दै जाँदा सम्मिको रुख्र, चौतारा भएको देउराली वस्ती भेटियो | हाम्रो गोबिन्द सरको मावली गाउँ | एक दुइजना आमाहरु भएको ठाउँमा गोबिन्दले फुस्काए " म सानोमा मामाघर आउँदा यतैतिर दुध लिन आउंथे "| तत्कालै गिरि आमाले जवाफ फर्काउनु भयो " हाम्रैमा हो नि भान्जा बाबु |" झन् आत्मियता बढ्यो , आत्मियतालाइ जीवन्तता दिन उहाँ को घरमा पसेर मोही पिइयो| मान्नै पर्छ हाम्रो" मोही मोह" लाइ |

 

त्यहाँ बाट अगाडी बढेर नुवाकोट कालाभैरब परिसरमा प्रवेश गरियो | उच्च ठाउँ ,सुन्दर परिवेश ,रमणीय दृश्य ,पुरातात्विक मन्दिर | कालिका मंदिर ,सुनकेशरीको मन्दिर,धरती मुनिबाट तातो हावा निस्कने ठाउँ ,पुरानो दरवारका भग्नावशेष ,नयाँ दरवारका भग्नावशेष ,रानी शृंगार चौतारा ,रानी पोखरी ,काला भैरब मन्दिर आदिले सुसज्जित यो स्थान समुन्द्र सतहबाट १९०० मिटरको उचाइमा रहेकोछ | नेपालमा नुवाकोट दुइ वटा छन् ,नुवाकोट जिल्ला र नुवाकोट किल्ला|

 

यो स्याङ्जा जिल्लामा रहेको प्रसिद्ध नुवाकोट किल्ला हो जसको मिन्चाखानले बि.सं.१५१० तिर स्थापना गरेका थिए | भैरब, शिबका प्रथम गण मध्ये एकहुन जसको आराधनाबाट शक्ति प्राप्त हुन्छ भन्ने भनाइ छ ,त्यसै कारण ले दरवार परिषरमा यसको स्थापना गरि नित्य आराधना गरिन्छ |पुरानो दरवार माथि रहेकोमा सपनामा चेस्टा भै त्यो फापिलो नहुने संदेश मिलेकोले तल बनाइएको रहेछ | धरतीबाट तातो हावा आउने प्वाल छ त्यो रणनीतिक महत्वको सुरुंग हुनसक्छ , भै परि आउँदा त्यहाँबाट भाग्न सकियोस | राजस्थानका राज महलमा यस्ता थुप्रै सुरुंग बनाइएको पाइन्छ | काला भैरबको दर्शनले मनोवान्छित फल प्राप्त हुन्छ भन्ने बलियो जन बिश्वाश पाइन्छ | फर्कंदा यति भब्य मन्दिरको इतिहास बारे कसैसंग सोधौं भने को कोहि नभेटिएको अवस्थामा यत्रो संरचनामा कोहि पनि छैनन् क्या हो? भनेर चर्को स्वरमा कुरा गर्दा मिटिंग हलबाट आथे आमा च्यांठीदै बाहिर निस्किन र कराउन थालिन "७८ बर्षीय बुढी महिला एउटा लौरोको भरमा यो दरवार कुरेर बसिरहेकी छु ,कोहि पनि छैनन् भन्ने ? यहाँ को संरक्षण गर्नेलाइ कति गार्हो छ ,कुरा गरे जस्तो सजिलो छ भन्ठानेका छौ "|बुढी रन्किएको रन्कियै,थन्किने सुर नै छैन |पछी, म टुप्लुक्क त्यहाँ के आइपुगेको  थिएँ , भालुको रिस खनाह माथि भने झैं बुढी त म तिर पो खनिन थालिन | हैन म के भालुको कम्पटमा पर्न लागें, अनि,मनमनै सोचें र बालक कालमा पढेको झगडाको औषधि भन्ने कथा सम्झेर चुपचाप बसें | मट्टीखानमा जन्मेर पोखराको मालेपाटनमा पक्की घर भएका पुर्व सैनिक ह .मे .नरकाजी गुरुङका दम्पति बिगत ५ बर्ष देखि मन्दिरको रेख देख ,आराधना गर्न त्यहि बसेका रहेछन,त्यस माथि पनि बिगत १६ बर्ष देखि अध्यक्ष भएर | आज बुढा आफन्तको बिहे परेर उपस्थित हुन् पोखरा झर्नु भएकोले आथेआमा एक्लै बस्नु भएको रहेछ | जसको योगदान छ त्यो रिसाउनु स्वाभाविकै थियो | हाम्रो अभिव्यक्तिले उहाँ मा चोट पुग्न गएको रहेछ | पछी , आमा बिस्तारै शान्त हुनु भयो "के खान्छोउ ? रातो चिया बनाइ दिउँ खान्छोउ ?" उहाँले सोध्नु भयो चिसोले सेक्कीएका हामीले हुन्छ, आथे" प्रत्युत्तर दियौं | भित्रबाट रातो चिया र लप्सीको अचारको भाँडो टकारी दिनुभयो | लप्सीको अचार मिठो , धन्ने! धन्नै भाँडो रित्तो पार्ने गरि खायौं |" चुरोट पिउन्छौ" नाइँ, हाम्रो जवाफ | पुगिसरी आएका दम्पतिको त्यो त्याग ,समर्पण ,त्यो महान भावना,कस्तो अनुशरण योग्य | कस्तो कमलो पन ,कस्तो रसिलो मन | हाम्रो आथे नरिवल, नरिवल आथे|" काला भैरब , हाम्रो आथे (ठुली आमा ) र नर्काजी बुवालाइ दिर्घायु बनाउ" हाम्रो प्रार्थना | हाम्रो गोबिन्दलाइ नाती जस्तो मानी छिन आथेले आशिर्वादको महासागर नै फर्काइ दिईन | आमाको सम्झना गर्दै एउट सामुहिक फोटो खिचेर हामी फर्कियौं | काला भैरब रिसोर्टमा खाजा खाए र भालु पहाड हेरेर,काला वांग घडेरीको नं १ होमस्टेमा गइ आराम गर्यौं | संक्षेपमा " काला भैरब को दर्शन गरि कालिकोटे भाइले काला भैरब रिसोर्टमा बनाएको खाजा खाई,कालावांग होम स्टेमा गई आराम |"

( लेखक बानियाँ पोखरेली श्रस्टा हुन्)

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update