Setopana.com
राजनारायण पाठकको ७८ लाख घुसकाण्डमा मुछिएका उनका भाइ उपकुलपति बन्ने दौडमा

 ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोका पूर्वआयुक्त राजनारायण पाठकका भाइ शुभनारायण पाठक पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न ‘लबिङ’मा लागेका छन्।

विश्वविद्यालयका हालका उपकुलपति यादवराज कोइरालाको पदावधि सकिन लाग्दा दाजुलाई घुस दिलाउने भूमिकामा जोडिएका शुभनारायण ‘लबिङ’मा लागेका हुन्।

शुभनारायण राजनारायण पाठकको घुसकाण्ड चल्दा विश्वविद्यालयको फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीको डिन पदमा कार्यरत् थिए। उनी दुई कार्यकाल विश्वविद्यालयको डिन बनेका थिए।

विश्वविद्यालयले आह्वान गरेको उपकुलपति पदको विज्ञापनमा शुभनारायणले समेत फराम भरेका छन्। १८ जनाले उपकुलपतिमा आवेदन दिएकोमा शुभनारायणको नाम दोस्रो नम्बरमा छ।

लम्बोदरकुमार न्यौपाने नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको कार्यकारी अध्यक्ष हुँदा उक्त कलेजको भ्रष्टाचारसम्बन्धी उजुरी मिलाउनको लागि अख्तियारका तत्कालीन आयुक्त राजनारायणलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरण २०७५ सालमा बाहिरिएको थियो।

उक्त प्रकरणमा राजनारायणलाई विशेष अदालतले दोषी ठहर गरिसकेको थियो।

उक्त मुद्दामा ‘घुसको लेनदेन मिलाउन भूमिका खेलेको’ आरोप लागेका शुभनारायणसँग अख्तियार र अदालत दुबैले बयान अदालतले बयान लिएको थियो। यद्यपि, उनी बयानमा तानिए पनि अदालतले दोषी ठकर गरेको थिएन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त दिनेहरूको सूची सार्वजनिक गरेको छ। फागुन ९ गते प्रकाशित गरिएको सूचीअनुसार पहिलो नम्बरमा तोयनारायण पौडेल छन्।

यस्तै, तेस्रो नम्बरमा अनिलकुमार पोखरेल,  चौथोमा जीवनकुमार ढकाल, पाँचौंमा अशोककुमार झा रहेका छन्।

निवेदन दिएकामध्येबाट मन्त्रालयले तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्ने छ।

फागुन १८ गते पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाको पदावधि सकिँदैछ।

मन्त्रालयले अहिलेसम्म सर्टलिष्ट बनाएर उपकुलपतिका लागि नाम सिफारिस गरिसकेको छैन। मन्त्रालयले अहिले आवेदन परेकाहरूमाथिको मापदण्ड, कार्यविधिबारे बुझ्ने काम गरिरहेको सूचना अधिकारी शंकर अधिकारीले बताए।

‘उपकुलपतिको नोटिस आह्वान भएर १८ जनाको निवेदन परेको छ, कार्यविधि अनुसारको काम गरेर मात्रै नाम सिफारिस हुन्छ,’ अधिकारीले भने।

दरखास्तको सूचीमा समावेश भएसँगै पूर्वडिन शुभनारायण उपकुलपति बन्ने दौडाहामा छन्।

शुभनारायण दाजु राजनारायण अख्तियारको आयुक्त भएका बखत अचानक विश्वविद्यालयको डिन नियुक्त भएका थिए। त्यहीबेलाको ‘कनेक्सन’ मिलाएर अहिले उनी दौडाहामा रहेको स्रोत बताउँछ।

राजनारायणलाई विशेष अदालतले तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवनाको फैसला गरेको थियो। आयुक्त पदमा बहाल रहँदा कसुर गरेको देखिएको भन्दै अदालतले राजनारायणलाई थप तीन महिना कैद हुने फैसला गरेको थियो।

राजनारायण प्रकरणमा अख्तियार र विशेष अदालतले शुभनारायणसँग बयानसमेत लिएको थियो।

उक्त घुसकाण्डमा जोडिएका नेपाल इन्जिनियरिङ काउन्सिलका तत्कालीन रजिष्ट्रार ज्ञानेन्द्रकुमार झासँग शुभनारायण सम्पर्कमा देखिएका थिए।

झाले बयानमा लम्बोदर न्यौपानेबाट रकम लिएर राजनारायणसम्म पुर्‍याएङ्को बयान दिएका थिए। ७८ लाख रुपैयाँ रकम दुई चरणमा गएर राजनारायणलाई दिएको झाले बयानमा बताएका थिए।

शुभनारायण डिन पदमा कार्यरत् रहँदाको मूल्यांकन औषत मात्रै हो। विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले घुसकाण्डमा नाम जोडिएपछि त्यतिबेले शुभनारायणलाई राजीनामा दिन दबाब दिएका थिए। तर, उनले राजीनामा भने दिएका थिएनन्।

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update