Setopana.com
सम्पत्ति शुद्धीकरण मुद्दामा गगन पुरी र उनकी श्रीमतीलाई चार करोड जरिबानाको फैसला

   झापा दमकको सरकारी जग्गा खाइमासेको आरोप लागेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। पुरीविरूद्ध विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

 

उनकी श्रीमती केशावती पुरी पनि सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएकी छिन्। उनलाई पनि सोही बराबरको जरिबाना तोक्ने निर्णय अदालतले गरेको विशेषका प्रवक्ता धनबहादुर कार्कीले बताए। विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई उक्त रकम बराबरको सजाय सुनाएको हो। यसअघि पुरीलाई दोषी ठहर गर्दै अदालतले सजाय निर्धारणका लागि आइतबार पेशी तोकेको थियो।

 

‘पुरानो कानुनअनुसार दायर भएको मुद्दामा बिगो बराबरको सम्पत्ति जफत गरी जरिबाना तोक्ने प्रावधान अनुसार उक्त जरिवानाको फैसला भएको हो,’ कार्कीले भने।

 

प्रतिवादी बनाइएकी मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ। कृष्णकुमार पुरी र संगीता पुरीको नामको रहेको जग्गा जफत नहुने फैसला भएको छ।

 

पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।

 

पुरीले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेर सम्पत्ति बढाएको आरोप लागेको थियो। उक्त विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

विशेष अदालतमा पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो। विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेकै बेला पुरी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए।

 

पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमारी र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो। केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको थियो। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो।

 

देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो थियो। सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको थियो। दमक नगरपालिका-८ (साबिक १३ र १४) मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ।

 

त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए।

 

पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको विभागको अनुसन्धानले देखाएको थियो। मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको थियो।

 

विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो।

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update