Setopana.com
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनुहुँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेश सभा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सभामुख रामचन्द्र मण्डलले बताउनु भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रीय सत्ता गठबन्धन सहमत भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभएको छ ।

माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।

मधेश प्रदेश सभामा अहिले कायम रहेको १ सय ७ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादी पार्टीका ७, स्वतन्त्रका ३, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका १/१ सदस्य छन् ।

मधेश प्रदेश सभामा प्रतिनिधित्व गरेको १०७ जना प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्य चाहिन्छ। मुख्यमंत्री सरोज कुमार यादवले प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update