Setopana.com
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो विद्यालयलाई मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान सञ्चालन गरेको छ । आर्थिक सङ्कलन गर्न विद्यालयले नयाँ अभ्यास सुरु गरेको हो । 

विद्यालयको ७१आँै वार्षिकोत्सव उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार भुजेलले आफू जीवित रहेसम्म विद्यालयलाई वार्षिक रु एक हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । सो कार्यक्रममा ५३ अभिभावक उक्त अभियानसँग  जोडिनुभयो । अध्यक्ष भुजेलका अनुसार शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित नहुन भन्ने उद्देश्यका साथ आप्mनो गाँस काटेर पूर्खाले विद्यालयका लागि गरेको योगदानको कदर गर्दै  अभियान सञ्चालन गरिएको हो । विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय एवम् प्रविधियुक्त शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ । 

अध्यक्ष भुजेलले भन्नुभयो–“सरकारी सेवा सुविधाका भरमा मात्र विद्यालय सञ्चालन गर्न चुनौतीपूर्ण छ । एक हजार अभिभावकलाई यस कार्यक्रममा सहभागी गराएर वार्षिक रु १० लाख सङ्कलन गर्ने लक्ष्य छ ।” अभिभावकको सहयोगले विद्यालय सञ्चालन गर्न  सहयोग पुगेको उहाँको भनाइ छ । 

विद्यार्थीको सुविधाका लागि विद्यालयले एक वर्षदेखि बस सेवा समेत सञ्चालन गर्दै आएको छ । बस सेवालाई दिगो गर्न यसै वर्षदेखि अक्षयकोषको व्यवस्था गरिएको छ । अक्षयकोषको प्राप्त ब्याजबाट बस सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म रु ६० लाख सङ्कलन भएको अक्षयकोष वृद्धि समितिका संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिनुभयो । रोजगारीका सिलसिलामा विदेशमा रहेका यस क्षेत्रका युवा एवम् विभिन्न पेसा व्यवसायमा आवद्ध स्थानीयबाट आर्थिक सयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो । 

“अक्षय कोषमा रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । ग्रामीण क्षेत्रमा सडक पूर्वाधार निर्माणसँगै सरकारी विद्यालयमा विद्यार्थीको अभाव हुन नदिन विद्यालयले बस सेवा सञ्चालन गरेको हो । पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउजाउ गर्न पक्की सडक निर्माण गरिएको छ । व्यवस्थापन सङ्कायतर्फ दशजोड दुईको पढाइ भइरहेको सो विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विसं २००९ मा स्थापना भएको विद्यालयमा चार पक्की भवन  छन् । कक्षा दशसम्म अग्रेजी माध्यममा पढाइ भइरहेको छ । विद्यालयमा हाल २१ शिक्षक शिक्षिका कार्यरत छन् । यसैबीच विद्यालयमा आयोजित ७१आँै वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यालयद्वारा सञ्चालित अक्षयकोषमा रु ५१ हजार ५५ को चेक हस्तान्तरण गर्नुभयो ।  

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update