Setopana.com
पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ । मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ । 

मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो । यसवर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नुभएको छ ।

यसैगरी वर्ष खेलाडी महिलामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहनुभएको छ । यसैगरी १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिण्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा पर्नुभएको छ । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

उहाँका अनुसार स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिने मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।  लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले जनही नगद रु ३५ हजार सहित ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।

मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ । मूल आयोजक समितिको सहसंयोजकमा मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ रहनुभएको छ । यसैगरी विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजकसमेत चयन गरिएको छ । आर्थिक सङ्कलन उपसमितिको संयोजक कविता घर्तीमगर र सह–संयोजक शशीकुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रचारप्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सहसंयोजकमा विजय नेपाल, अन्तर्राष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सहसंयोजकमा सुदर्शन रञ्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सहसंयोजकमा फडिन्द्र अकिञ्चन हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update