Setopana.com
भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँका प्रमुख तीर्थस्थल मध्येको एक हो । 

पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जा लगातका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय संंघ संस्थाका साथै वडा कार्यालयले सकृयता देखाएको छ ।

विगतमा सामान्य कुुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवन लगायतका पूर्वाधारहरू विकास गरिसकिएको स्थानीयवासी एवम् पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा आठ लाख ५० हजार रुपैयाँको लागतमा पूजारी आवास सहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आर्थिक वर्षमा मन्दिर परिसरमा १० लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको उहाँले जानकारी दिनुुभयो । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड(पोखरी)लाई व्यवस्थित गर्नका लागि वडा कार्यालयले आठ लाख रुपैयाँ उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शंकर अधिकारीले राससलाई जानकारी दिनुुभयो ।

प्राचीन कालदेखि नै भुुलभुला देवीको महिमा र गरिमा आँफूहरूले सुन्ने गरेको बताउँदै वडा अध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढीएको बताउनुुभयो ।

प्राचीन किंवदन्ती अनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बुढापाका बताउँछन् । प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दशैंमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामुहिक पञ्चवली दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभएपनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामुहिक पञ्चवली दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताउनुुभयो । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीन कालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उहाँको तर्क छ । 

स्थानीयवासीका अनुसार जल कुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुुङ्गे मन्दिर थियो । १८÷१९ वर्ष अघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको उनीहरूको भनाइ छ । 

प्रत्येक वर्षको वैशाख संङ्क्रान्तिमा प्राचीन कालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाहरूले ११ वर्ष यता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमुना युवा क्लब, भुुलभुुला युवा क्लब लगायतका संघ संस्थाले सकृयता देखाएका छन् । 

मन्दिरसँगै नजिकै रहेको डुुडेको रहलाई पनि पर्यटकीय रुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताउनुुभयो । उहाँका अनुसार प्राकृतिक झरनाका रुपमा रहेको डुडेको रहको संरक्षण एवम् पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका वडा नं ३३ को कार्यालयबाट चार लाख ५० हजार रुपैयाँ प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भैसकेको छ ।

“धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ”, उहाँले भन्नुुभयो, “यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवम् सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।” 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update